विराटनगरमा आयोजित सो कार्यक्रम आध्यन्त फन्ड म्यानेजमेन्ट, नेपाल बजार विकास कार्यक्रम, स्विसकन्ट्याक्ट र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा सम्पन्न भएको छ । यस सम्मेलनमा कृषि, डिजिटल सेवा प्रदायक, र पर्यटनसँग सम्बन्धित कोशी प्रदेशका उद्यमीहरूले लगानीकर्तासमक्ष लगानीका लागि आफ्नो उद्यमको कार्यकारी अवस्था प्रस्तुत गरेका थिए । सम्मेलनको मुख्य उद्देश्य उद्यमीहरूलाई लगानीकर्तासँग जोड्नु थियो ।
सम्मेलनमा हिमालयन ह्वाइट ड्रप डेरीका योगेन्द्र गिरि, बी एन्ड बी ब्रिडिङका भीम श्रेष्ठ, ब्राइट फिडका गोपाल श्रेष्ठ, नेपालीरिका होटलका आकाश दुलाल, गोर्खा टी स्टेटका सौरभ थपलिया, प्रथम आईटीका सुरज चिमरिया, र जयपति डेरीका यादव ढकाल गरी ७ उद्यमीहरूले आफ्नो उद्यमबारे प्रस्तुति दिएका थिए । लगानीकर्ताको रूपमा टिम भेन्चर्स, अल्फा पल्स, र एन.आई.एम.बी.एस. क्यापिटलको उपस्थिति थियो ।
सम्मेलनमा जयपति कृषि फर्म र डी.भी. एक्सलेसले कामधेनु डेरीका १०० किसानलाई २ लाखसम्मको बिना धितो ऋण दिने एन.आई.एम.बी.एस. बैंकमार्फत प्रदान गर्न सम्झौतापत्रमा हस्ताक्षर गरे । नेपाल बजार विकास कार्यक्रमकी टिम लिडर रीमा श्रेष्ठले एक्सिलेरेटर कार्यक्रमले व्यवसायलाई वृद्धि गर्न र सफल बनाउन खेलेको महत्त्वपूर्ण भूमिकालाई उजागर गरिन् । उनले स्विस विज्ञहरूले खेतिपाती अर्गानिक्समा प्रदान गरेको प्राविधिक सहायताले खेलेको सकारात्मक प्रभावबारे पनि बताइन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले एक्सिलेरेटर कार्यक्रम अन्तर्गत महासंघमा स्थापना गरिएको बिजनेस ग्रोथ सेन्टरबारे चर्चा गरे ।